काठमाडौं:देशका अधिकांश स्थानमा तत्काल ठूलो मौसमी गतिविधि देखिएको छैन ।
तर, साताको मध्यदेखि भने विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने अनुमान गरिएको छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ ।महाशाखाले आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन ।
यद्यपि, कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसममा परिवर्तन आउने सम्भावना छ ।उक्त अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ ।मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा र हिमपातबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आग्रह गरिएको छ ।
