इनरुवा:सुनसरीको इनरुवामा प्रहरीले मलद्वारमा लुकाएर ल्याइएको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ ।
इनरुवा नगरपालिका–४ स्थित बसचोकमा सोमबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका–५ का २६ वर्षीय विशाल आछामी र ३८ वर्षीय वीरु लिम्बूलाई नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर शरीर खानतलासी गरेको थियो ।
त्यस क्रममा विशाल आछामीको मलद्वारबाट ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
