विराटनगर :गएराति परेको अविरल वर्षा तथा हावाहुरीका कारण विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् संरचनामा क्षति पुगेको छ।
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार विभिन्न स्थानमा विद्युत् पोलहरू भाँचिएका, रूख तथा हाँगाहरू तारमा ढलेका र विद्युत् तारहरू चुडिएको विवरण प्राप्त भएको छ।प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत तथा आवश्यक प्राविधिक कार्य सम्पन्न भएपछि मात्र सम्बन्धित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिने जनाएको छ। सेवा अवरुद्ध हुँदा उपभोक्तामा परेको असुविधाप्रति केन्द्रले क्षमायाचना समेत गरेको छ।
साथै, नेपाल विद्युत् प्राधिकरणले आफ्नो टोल–छिमेकमा पोल ढलेको, तार चुडिएको वा लाइनमा रूख लागेको अवस्था देखिएमा तत्काल वितरण केन्द्रमा जानकारी गराउन आग्रह गरिएको छ।नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले सर्वसाधारणलाई विद्युत् लाइन तथा क्षतिग्रस्त संरचनाबाट टाढा रहन र सुरक्षित विद्युत् प्रयोग गर्न अनुरोध गरेको छ।
