०४ कार्तिक २०८३, मंगलबार

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

Logo
Pulse Khabar मंगलबार, कार्तिक ०४, २०८३

सुनसरी: धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ ।

बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो । मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ । भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन् ।यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन् तरहराकी निर्मला बस्नेतले दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताउनुभयो । मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उहाँले जानकारी दिनुभयो ।बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आउनुभएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताउनुभयो ।

महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उहाँ दङ्ग हुनुहुन्छ । उहाँले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आउनुभएको छ ।एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो । समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ ।बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन् । भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ । पोथी उपलब्ध नभए अण्डा चढाइन्छ ।विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन् । बडादसैँका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206