काठमाडौँ:शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले नयाँ नियमावली ल्याउने तयारी गरेको बताएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै नियमनका लागि आवश्यक नियमावलीको मस्यौदा तयार भइसकेको जानकारी दिए।उनका अनुसार शिक्षा मन्त्रालयले मस्यौदा अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइसकेको छ। ती मन्त्रालयबाट राय तथा स्वीकृति प्राप्त भएपछि नियमावली मन्त्रिपरिषद्मा पेश गरिनेछ।मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू अहिलेसम्म प्रभावकारी रूपमा नियमन हुन नसकेको स्वीकार गरे। उनले कुन विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषयलाई नियमावलीमार्फत स्पष्ट गरिने बताए। ‘नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा छन्, तर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू व्यवस्थित रूपमा नियमन हुन सकेका छैनन्,’ उनले भने।
शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको मन्त्री पोखरेलले जानकारी दिए। तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन्। उनले शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले अन्तरिम व्यवस्थापनका रूपमा शिक्षा नियमावली अघि बढाइएको स्पष्ट पारे। मन्त्री पोखरेलले विद्यालयमा शिक्षक दरबन्दी मिलानको काम पनि अघि बढाइएको जानकारी दिँदै स्थानीय तहसँगको समन्वयमा प्रक्रिया जारी रहेको बताए।
