१० जेठ २०८३, आइतबार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

Logo
Pulse Khabar आइतबार, जेठ १०, २०८३

कास्की : पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

“महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिने छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले समेत भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206