विराटनगर:मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि नै अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ।
अस्पतालले साविक स्थानबाट एक मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सहज रुपमा सेवा दिन सक्ने क्षमता विकास गरिएको हस्पिटलले जनाएको छ। विभागमा अर्थो तथा स्पोट्र्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत सेवा प्रदान हुँदै आएको छ। बिरामीको बढ्दो चाप र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको हो। अस्पतालले एकीकृत रूपमा विशेषज्ञ सेवाहरू एकै स्थान नजिक उपलब्ध गराएपछि बिरामीहरूलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ।विभागले शल्यक्रिया अघि र पछिको थेरापी, स्पोट्र्स रिहाबिलिटेशन, पक्षघात, हेड इन्जुरी, मेरुदण्ड भाँचिने समस्या, पार्किन्सन्सलगायत विभिन्न न्यूरोलोजिकल समस्याको उपचार सेवा उपलब्ध गराउँदै आएको छ। साथै, अटिजम र सेरेब्रल पाल्सी भएका बालबालिकाका लागि विशेष थेरापी, गर्भवती महिलाका लागि प्रि–नेटल तथा पोस्ट–नेटल थेरापी, र क्यान्सर बिरामीका लागि अन्कोलोजी थेरापी लगायतको सेवा समेत सञ्चालनमा रहेको हस्पिटलले जनाएको छ।
हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, आईएफटी, मसल स्टिमुलेशन, सीपीएम, लेजर थेरापी, ट्र्याक्शन, ट्रेडमिल, गेट ट्रेनर, टिल्ट टेबल तथा मिरर थेरापी जस्ता अत्याधुनिक उपकरणका साथै मल्टी–स्टेशन जिमको सुविधा उपलब्ध रहेको छ। बिरामीको सहजतालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो सेवा विस्तार र स्तरोन्नति गरेको छ। हाडजोर्नी विभाग नजिकै फिजियोथेरापी विभाग सञ्चालनमा ल्याइएपछि बिरामीहरूलाई थप सहज भएको अस्पताल प्रशासनले जनाएको छ। यो सँगै अब बिरामीहरूले एउटै छानामुनि हाडजोर्नी र पुनःस्थापना (फिजियोथेरापी) सम्बन्धी उपचार पाउन सक्नेछन्। सर्वसाधारणको आर्थिक भार कम गर्न अस्पतालले विभिन्न सहुलियतपूर्ण सेवाहरू पनि समेटेको छ। अब अस्पतालमा सरकारको स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष ( एसएसएफ ) र भूपू आर्मी सेवा मार्फत समेत उपचार गराउन सकिने व्यवस्था मिलाइएको छ। यसका साथै, दीर्घकालीन बिरामीहरूलाई लक्षित गरी अस्पतालले विशेष प्याकेज सुविधा, छुट्टै बिलिङ काउन्टर र फिजियोथेरापी डे–केयर सेवा समेत सञ्चालनमा ल्याएको छ। छुट्टै बिलिङ काउन्टरका कारण बिरामी र तिनका आफन्तले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने विश्वास अस्पतालले जनाएको छ।
