विराटनगर: उदयपुरको बेलका नगरपालिका–८ मा रहेको बोप्ताङ डाँडा प्याराग्लाइडिङको नयाँ सिकाइ केन्द्रका रूपमा उदाएको छ । ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल’ले व्यावसायिक प्रशिक्षण दिन थालेपछि साहसिक खेलप्रेमी पुग्न थालेका हुन् ।
सप्तकोशी नदी, हरियाली चुरे क्षेत्र र आसपासका पर्यटकीय स्थलको मनोरम दृश्य अवलोकन गर्दै उडान गर्न सकिने यो स्थानमा स्वदेशी मात्र नभई विदेशी प्रशिक्षार्थीसमेत आउने गरेका छन् ।स्कुलका सञ्चालक एवं प्रशिक्षक सुरेन गुरुङका अनुसार स्थापनाको तीन वर्षमा १५० भन्दा बढीले तालिम लिइसकेका छन् । तालिम लिनेहरुमा भारत, चीन, स्पेन, फ्रान्स र जर्मनीका करिब ६० जना विदेशी नागरिक छन् । १५ दिने आधारभूत तालिमका लागि नेपाली प्रशिक्षार्थीलाई आवास र बीमासहित १ लाख ८० हजार रुपैयाँ शुल्क तोकिएको छ । विदेशीलाई १५ सय अमेरिकी डलर शुल्क तोकिएको छ ।
व्यावसायिक रूपमा पर्यटकलाई उडाउने ‘ट्यान्डम फ्लाइट’ सुरु गर्न भने सरकारी अनुमतिको आएको छैन । उदयपुरका चौदण्डीगढी, रौतापोखरी र उदयपुरगढी क्षेत्रमा गरिएका परीक्षण उडानहरू सफल भइसकेका छन् । हाल जिल्लामा २ महिलासहित १८ जना सोलो पाइलट सक्रिय छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ उदयपुरका अध्यक्ष ईश्वरमान राईले वन क्षेत्र व्यवस्थापन र सरकारी अनुमति प्रक्रिया सहज नहुँदा पूर्वाधार विकासमा अन्योल भएको बताए ।
