काठमाडौँ:नेपाल प्रेस युनियनले ३५औँ स्थापना दिवसका अवसरमा बुधबारदेखि काठमाडौँमा विधान महाधिवेशन सुरु भएको छ ।
नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको साझा सङ्गठन हो । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्ने तय भएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो विधान महाधिवेशनका लागि देशभरका सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो । विसं २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।नेपालका सञ्चारकर्मीलाई सङ्गठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तरराष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता हुनुहुन्थ्यो । युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसक्नुभएको छ । युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता,लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो।
