०९ जेठ २०८३, शनिबार

रतुवामा समय अगावै बन्यो झोलुंगे पुल, मिर्चाडाँगीबासीलाई आवतजावतमा सहजता

Logo
Pulse Khabar शुक्रबार, जेठ ०८, २०८३

रंगेली:मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई जोड्ने रतुवा खोलामाथिको झोलुंगे पुल (ट्रेलब्रिज) निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दा पुल बनेपछि निकै खुसी भएका छन् ।

पुल निर्माणसँगै वर्षायाममा उर्लेर आउने रतुवा खोलाका कारण त्यस क्षेत्रका बासिन्दाले भोग्नुपर्ने जोखिमपूर्ण यात्राको अन्त्य भएको छ । विगतमा सामान्य कामका लागि पनि ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने वा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयमा थियो । जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भएसँगै स्थानीयले पुललाई गाउँको जीवनशैली नै परिवर्तन गर्ने पूर्वाधारका रूपमा लिएका छन् । नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले निर्माण गरेको ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज’ अहिले स्थानीयको मुख्य आवतजावतको माध्यम बनेको छ । उक्त पुल पूर्वी तराई क्षेत्रकै करिब ७४७ मिटर लम्बाइका लामो झोलुंगे पुलमध्ये एक मानिएको छ । पुल सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, किसान, ज्यालादारी कामदार तथा दैनिक रूपमा खोला पार गर्नुपर्ने स्थानीयले ठूलो राहत महसुस गरेका छन् । यसअघि बर्खायाम सुरु भएसँगै रतुवा खोलामा पानीको बहाव बढ्ने भएकाले स्थानीयले निकै जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । कतिपय अवस्थामा विद्यालय जाने विद्यार्थीहरू घरमै बस्न बाध्य हुन्थे । खोलामा पानी बढेपछि विद्यालय जान नसक्ने समस्या बालबालिकाका लागि नियमित जस्तै बनिसकेको थियो । स्थानीयका अनुसार बर्खाको तीन महिनासम्म विद्यार्थीहरूको पढाइ प्रभावित हुने गरेको थियो ।

तर, अहिले पुल निर्माण सम्पन्न भएसँगै त्यो समस्या हटेको छ । अब विद्यार्थीहरू मौसमको जोखिमबिना नियमित विद्यालय जान थालेका छन् । स्थानीय अभिभावकहरूका अनुसार पुल बनेपछि बालबालिकाको पढाइमा निरन्तरता आएको छ भने विद्यालय छाड्ने जोखिम पनि कम भएको छ ।पुल निर्माणसँगै स्थानीय कृषि उत्पादन ओसारपसारमा समेत सहजता आएको छ । यस क्षेत्रका किसानहरूले उत्पादन गरेको धान, मकै, तरकारी तथा अन्य कृषि सामग्री बजारसम्म लैजान विगतमा निकै कठिन हुने गरेको थियो । खोलामा पानी बढेका बेला कृषि सामग्री बोकेर पार गर्नुपर्दा दुर्घटनाको डर सधैं रहन्थ्यो । अहिले भने पुल बनेपछि व्यापार–व्यवसाय सञ्चालन र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आएको स्थानीयको भनाइ छ ।उक्त पुल निर्माणको जिम्मा काठमाडौंको बत्तीसपुतलीस्थित थानी निर्माण सेवा प्रा.लिले पाएको थियो । कम्पनीले भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का लिएको थियो । निर्माणका लागि २०८२ असार ११ गते सम्झौता गरिएको थियो भने २०८४ असार १० गतेभित्र काम सम्पन्न गर्ने समयसीमा तोकिएको थियो । तर, निर्माण कम्पनीले निर्धारित समयभन्दा करिब १४ महिना अगावै पुल निर्माण सम्पन्न गरेर उदाहरणीय काम गरेको छ । निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले निर्धारित समयभन्दा धेरै अगाडि नै पुल निर्माण सम्पन्न गर्न सम्भव भएको हो । स्थानीयले पुल निर्माणलाई पूर्वाधार विकासका रूपमा मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय अर्थतन्त्रसँग जोडिएको दीर्घकालीन उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार अब आकस्मिक बिरामी पर्दा अस्पताल पुग्न, बजारसम्म पहुँच पुर्याउन तथा गाउँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । वर्षौंदेखि खोलाको त्रासमा बाँचेका मिर्चाडाँगीका बासिन्दाका लागि झोलुंगे पुल अहिले विकासको प्रतीक मात्र नभई सुरक्षित भविष्यको भरोसा बनेको छ । पुल निर्माण सम्पन्न भएसँगै मिर्चाडाँगीमा खुसीयाली छाएको छ । स्थानीयको वर्षौंदेखिको सास्ती अन्त्य भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206