विराटनगर :नेपाल पत्रकार महासंघ मोरङ शाखाको वार्षिक साधारणसभा आज बिहीबार विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ।
महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन दीप प्रज्वलन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियो । महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले तानासाह प्रवृत्ति देखाइरहेको भन्दै सरकारविरुद्ध अब आन्दोलनको विकल्प नभएको बताइन् । नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् ।अध्यक्ष शर्माले ‘सरकार साधारण हिसाबले टेर्नेवाला छैन’ भन्दै सरकारी विज्ञापन वितरणमा सरकारले देखाएको विभेदकारी रवैया नसच्याएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी हुन् । मिडियालाई आर्थिक संकटमा पार्ने र सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्ने सरकारी नियत लोकतन्त्रकै लागि गम्भीर संकट भएको उनको भनाइ थियो । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने यस्ता कदमविरुद्ध देशभरका सञ्चारकर्मीहरूलाई एकजुट भएर सडक आन्दोलनमा उत्रिन समेत उनले आह्वान गरेकी छन्।अध्यक्ष शर्माले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई मात्रै विज्ञापन दिने सरकारको निर्णय प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको बताइन । उनले यस कदमलाई मिडियामाथिको ’आर्थिक नाकाबन्दी’ को संज्ञा दिँदै, सरकार यो स्वेच्छाचारी निर्णयबाट पछि नहटेसम्म पत्रकारहरु सडक आन्दोलनमा डटिरहने स्पष्ट पारिन्। उनले करिब दुई–तिहाई बहुमतको दम्भ बोकेको सरकार नै अन्ततः लोकतन्त्रको लागि गम्भीर संकट बन्न सक्ने चिन्ता व्यक्त गरिन् ।
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमार दाहालले राज्यको पछिल्लो शैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । लोकतन्त्रमा प्रेसले बेथिति र अराजकताविरुद्ध निरन्तर प्रश्न गरिरहनुपर्नेमा जोड दिँदै उनले भने, ‘पछिल्लो समय सञ्चारक्षेत्रसँगै निजी क्षेत्र पनि त्रासको वातावरणमा रहेको छ । पहिले सुन्ने र थुन्ने भन्ने थियो, तर अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ।’सरकारको यस्तो कार्यशैलीले नागरिकको आवाज दबाउने र लोकतान्त्रिक मूल्य–मान्यतामा आँच आउने उनले भने । दाहालले राज्य र निजी क्षेत्रबीचको असमझदारी हटाउन तथा व्यवसायीको हकहितका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको समेत स्पष्ट पारेका छन् । कार्यक्रममा महासंघका सदस्य रहँदै विद्यावारिधी (पी अच डी) उपाधि हासिल गर्नुभएका डा. रामचन्द्र अधिकारीलाई विशेष सम्मान गरिको हो । यस्तै, मोरङ शाखामा विगत २९ वर्षदेखि निरन्तर कर्मचारीको रूपमा कार्यरत दिपक फुँयाललाई उहाँको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै सम्मानित गरिको हो । सोही अवसरमा स्वास्थ्य क्षेत्रमा विराटनगरस्थित न्यूरो अस्पताललाई पनि महासंघले सम्मान गरिएको हो । औपचारिक सम्मान कार्यक्रमकै बीच सरकारले हालै गरेको एक विवादास्पद निर्णयको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा उपस्थित पत्रकार, सरोकारवाला तथा अतिथिहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ऐक्यबद्धताका लागि हस्ताक्षर गरेका छन् । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कटेल, विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइराला तथा महासंघका पूर्वअध्यक्षहरूको विशिष्ट उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै महासंघको गरिमा र समसामयिक मुद्दामा यसको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
