झापा:तस्करी गरेर अवैध रूपमा भारततर्फ लैजान खोजिएको एक हजार किलोभन्दा बढी स्याउ प्रहरीले झापाबाट बरामद गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार दिउँसो झापा गाउँपालिका–१ स्थित बिलाइतीबारी क्षेत्रबाट स्याउ बरामद गरेको हो। प्रहरीका अनुसार बारुद्धिन शेखका घरमा भण्डारण गरेर राखिएको करिब १ हजार ८० किलो स्याउ फेला परेको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घरमा स्याउ लुकाइछिपाइ राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले छापा हानेको थियो । छापा हान्ने क्रममा बिल बीजक बिनको स्याउ बरामद भएको जानकारी खड्काले दिए ।
बरामद गरिएको स्याउको बजार मूल्य करिब ३ लाख २४ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै प्रारम्भिक अनुसन्धान अनुसार उक्त स्याउ भारततर्फ तस्करीका लागि भण्डारण गरिएको पत्ता लागेको छ।
