बरहथवा : बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका–१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताउनुभयो । “एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,” उहाँले भन्नुभयो, “भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त कुहिएर काम नलाग्ने भइसकेको छ ।’’ लगातार परेको झरीका कारण आफूहरु समस्यामा परेको किसान विनोद यादवले सुनाउनुभयो ।
“भित्र्याउने समयमा धानबालीमा पानीले क्षति गर्दा मन अमिलो बनेको छ”, उहाँले भन्नुभयो । यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए । केही दिन सुकाएर उठाउने तरखर गर्दागर्दै पानी पर्न थालेपछि समस्या भएको उहाँहरुको भनाइ छ । केही समय अघि आएको बाढीका कारण पनि यहाँका किसान समस्यामा परेका थिए । पहिले बाढी र हावाले धान लडाएको थियो । अहिले परेको झरीले त्यसलाई डुबाएपछि अब धान काम नलाग्ने किसानको गुनासो छ । बोटमै रहेको धानमासमेत बाला झर्ने, पानीले जमिन गलेपछि धानको बोट लड्ने समस्या भएको बागमती नगरपालिका–११, का किसान यज्ञ धिमालले बताउनुभयो ।
समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका किसान अहिले बेमौसमी पानीले मारमा परेको उहाँको भनाइ छ । जसोतसो उत्पादन भएको धान नाश हुने अवस्था आएको बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीको भनाइ छ । जिल्लाको अधिकांश स्थानमा परेको झरीले किसानले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिनुभयो । केन्द्रका अनुसार यसवर्ष जिल्लामा ८० प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको थियो । त्यसमा पनि समय घर्किएर गरेको रोपाइँले धान उत्पादनमा गिरावट आउने उहाँको भनाइ थियो ।