काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सोमबार (आज) देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने उद्घाटन खेल आज साँझ ५ बजे सुरु हुनेछ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी र अघिल्लो संस्करणको फाइनलमा पराजित सुदूरपश्चिमबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।क्यानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । यस संस्करणमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
तेस्रो संस्करणको एनपीएल विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) समेत लागू गरिने क्यानले जनाएको छ । डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मकता थप बढ्ने अपेक्षा गरिएको छ ।
