ढाका:बंगलादेशमा डेंगीको संक्रमण तीव्र रूपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ ।
बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा अस्पताल भर्ना भएका संक्रमितको यो संख्या चालु वर्षकै सबैभन्दा उच्च हो ।महानिर्देशनालयको पछिल्लो तथ्यांकअनुसार यस वर्ष बंगलादेशमा डेंगी संक्रमितको कुल संख्या एक लाख २३ हजार ९४८ पुगेको छ । डेंगीका कारण मृत्यु हुनेको संख्या पनि ३८४ पुगेको छ ।तथ्यांकअनुसार अक्टोबर महिनामा मात्रै डेंगीका कारण १३९ जनाको मृत्यु भएको छ । यसअघि सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाले ज्यान गुमाएका थिए ।
सामान्यतया मनसुन अवधिमा बढी फैलिने डेंगी बंगलादेशमा यस वर्ष जुनदेखि सेप्टेम्बरसम्मको समयभन्दा बाहिर पनि तीव्र रूपमा फैलिरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको छ ।यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले डेंगी नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गर्न र रोकथामका प्रयासलाई प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले डेंगी नियन्त्रण अभियानमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
