१६ भाद्र २०८३, मंगलबार

पटकपटक म्याद थपः खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै

Logo
Pulse Khabar मंगलबार, भाद्र १६, २०८३

लमजुङ:निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ ।

सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ । सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव आठ किलोमिटर सडकको हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ । सडकको दूरावस्थाका कारण बिरामीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो ।“सडकमा हिँडडुल गर्नसमेत कठिन छ । बिरामी पर्दा एम्बुलेन्स लैजान नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “पटकपटक सम्बन्धित निकायमा दबाब दिँदा पनि कामले गति लिन सकेको छैन ।”निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले गत असारमा सडकमा धान रोपेर विरोधसमेत गरेका थिए । उनीहरूले सडक सुधार गरी निर्माणमा तीव्रता दिन माग गरेका थिए ।पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख शोभियत खड्काले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरिएको बताउनुभयो  ।

ठेक्का तोड्ने पत्र तयार हुने अवस्थामा पुगेपछि निर्माण कम्पनीले सम्झौता तोडिए आफूलाई गम्भीर असर पर्ने जनाउँदै काम अघि बढाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । “निर्माण व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो ।उहाँका अनुसार सडक स्तरोन्नतिका लागि काठमाडौँस्थित महावीर प्रधान जेभीसँग विसं २०७८ असोज २२ गते २८ करोडमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार २१ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । काम पूरा नभएपछि पहिलोपटक म्याद थप गरी विसं २०८१ असार २१ गतेसम्म समय दिइएको थियो । सो अवधिमा पनि काम नसकिएपछि पुनःम्याद थप गरी विसं २०८३ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नेगरी समय निर्धारण गरियो । पछिल्लो पटक निर्धारित म्याद समेत सकिइसकेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडकको हालसम्म ४३ दशमलव आठ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक कटिङ तथा चौडा गर्ने, पाइप राख्ने, ग्याभिन जाली तथा नाला निर्माणलगायत काम भए पनि कालोपत्रका लागि आवश्यक बेस तयार भएको छैन ।

निर्माण कार्यका परामर्शदाता राजेश अधिकारीका अनुसार गत असारयता निर्माणको गति अघि बढेको छैन । निर्माण प्रक्रिया अघि बढाउन दुईपटक बैठक बसेर माइन्युट गरिएको र एकपटक मौखिक रूपमा आग्रह गरिएको उहाँले बताउनुभयो ।“सहमति गर्ने तर त्यसअनुसार काम अघि नबढाउने अवस्था पटकपटक दोहोरिएको छ”, उहाँले भन्नुभयो, “काम गरे पनि सुस्त गतिका कारण ढिलाइ भएको छ । ” निर्माण कम्पनीले पुनःम्याद थपका लागि निवेदन दिएको अधिकारीले बताउनुभयो । कम्पनीले विसं २०८४ असारसम्म काम सम्पन्न गर्ने गरी म्याद थप माग गरेको छ । नयाँ म्याद भने स्वीकृत भइसकेको छैन । निर्माण कम्पनीले पर्याप्त लगानी गर्न नसक्दा कामदार तथा निर्माण सामग्री व्यवस्थापनमा समस्या भएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई रु ११ करोड ८७ लाख २२ हजार ५६४ भुक्तानी भइसकेको छ । परामर्शदाता अधिकारीका अनुसार गत आर्थिक वर्षमा करिब रु ८६ लाख ७३ हजार र त्यसअघि रु एक करोड छ लाख बराबरको काम भएको थियो । सडकको करिब तीन किलोमिटर खण्डमा आरसिसी ढलान गर्ने योजना छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206