रूपन्देही:रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक रूपमा सबल बनाउन विद्यमान कानुन समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको हो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, फरक-फरक नीति तथा कानुन, विकास निर्माणका जटिल प्रक्रिया र नियमनमा देखिएका कमजोरीले सरकारी कामकारबाही प्रभावित भइरहेको बताउनुभयो । उहाँले नवीन सोच र प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुकुमवासी समस्या समाधानलगायत विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिनुभयो । विद्यमान कानुनलाई समयानुकूल सुधार गर्दै जनअपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
सांसद अमृता विकले यातायात क्षेत्रसहित समग्र व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सञ्चालन खर्चमा बढोत्तरी, सवारीसाधनको सङ्ख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेकाले यसतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पर्याप्त चार्जिङ स्टेसन, पार्टपुर्जाको उपलब्धता, मर्मतसम्भार तथा सञ्चालन दूरीसँग सम्बन्धित चुनौती कायमै रहेको उहाँको भनाइ छ ।अध्यक्ष खरेलले यातायात क्षेत्रका समस्या समाधानका लागि कानुनमा सुधार, वैज्ञानिक आधारमा भाडादर निर्धारण, प्रभावकारी अनुगमन, बसपार्क तथा पार्किङ व्यवस्थापन र यात्रु एवं व्यवसायीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यी विषयमा आवश्यक पहल गर्न उहाँले सांसदहरूमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा व्यवसायीहरूले यातायात क्षेत्रका समस्या, व्यवसायीका माग तथा समाधानका सम्भावित उपायबारे जानकारी गराउनुभएको थियो । यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र प्रभावकारी यातायात व्यवस्थापनमा सरकार, व्यवसायी, चालक, सहचालक तथा यात्रु सबै जिम्मेवार हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन् । यातायात क्षेत्रका समस्या समाधानका लागि सांसदहरूले प्रतिबद्धता जनाए पनि कानुनी सुधार, भाडादर निर्धारण र पूर्वाधार व्यवस्थापनका विषयमा ठोस निर्णय तथा कार्यान्वयन हुन बाँकी रहेको व्यवसायीहरूको भनाइ छ ।
