स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ ।
समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको क्षण बनेको छ ।ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकहरूमा खेल हेर्न भेला भएका हजारौँ समर्थक खेल सकिएको घोषणासँगै स्तब्ध बने । खेल सुरु हुँदा उत्साह, जयजयकार र आशाले भरिएका समर्थकहरू खेल सकिँदासम्म आँसु, निराशा र भावुकतामा डुबेका देखिए । धेरैले अब ३९ वर्षीय मेस्सीलाई विश्वकपमा फेरि देख्न नपाइने पीडा सबैभन्दा ठूलो रहेको प्रतिक्रिया दिएका छन् ।२२ वर्षीय वास्तुकला विद्यार्थी क्यामिलो चिचेरोले आफूलाई खाली महसुस भएको बताउँदै मेस्सीको विश्वकप यात्रा यतिमै टुङ्गिएको स्वीकार गर्न गाह्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले कम्तीमा मेस्सीले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसक्नुभएको तथ्यले केही सान्त्वना दिएको बताउनुभयो ।उहाँका साथी तथा कानूनका विद्यार्थी जुआन सेन्जले पनि मेस्सीकै युगमा आफू हुर्किएको उल्लेख गर्दै यो केवल एक खेलाडीको बिदाइ नभई एउटा युगको अन्त्य भएको प्रतिक्रिया दिनुभयो ।यद्यपि हारपछि पनि अर्जेन्टिनाका समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान कायम राखेका छन् । राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा हजारौँ समर्थक भेला भएर टोलीको हौसला बढाउँदै उत्सव मनाएका थिए । उनीहरूले टोली स्वदेश फर्किएपछि स्वागत गर्न सडकमा उत्रने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।राष्ट्रपति जेभियर मिलेईले सामाजिक सञ्जाल एक्समार्फत खेलाडीहरूले अन्तिम क्षणसम्म सङ्घर्ष गरेको भन्दै उनीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
फाइनलअघि अर्जेन्टिनी समर्थकहरू लगातार कठिन जितका आधारमा टोलीले पुनः च्याम्पियन बन्ने विश्वासमा थिए । राष्ट्रिय झण्डा र नीलो–सेतो जर्सी लगाएर उनीहरू बिहानैदेखि बार र सार्वजनिक स्थानमा भेला भएका थिए । खेल अगाडि बढ्दै जाँदा उत्साह क्रमशः तनावमा बदलिएको थियो ।दोस्रो हाफ र अतिरिक्त समयमा समर्थकहरू प्रार्थना, चिच्याहट र चिन्तामा डुबेका थिए । एन्जो फर्नान्डेज रातो कार्ड पाएर मैदान बाहिरिएपछि धेरै समर्थक झन् निराश बने । अन्ततः अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलले अर्जेन्टिनाको उपाधि रक्षा अभियान समाप्त गरिदियो ।पराजयपछि केही समर्थकहरूले टोलीको प्रदर्शन, रणनीति, खेलाडी छनोट तथा निर्णायकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर धेरैले खेलाडीहरूले अन्तिमसम्म पूरा शक्ति लगाएर खेलेकाले उनीहरूप्रति गर्व रहेको बताएका छन् ।६२ वर्षीय सेवानिवृत्त एबेल टोरेसले अर्जेन्टिनाले अन्तिम क्षणसम्म सङ्घर्ष गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि उठेर अघि बढ्ने राष्ट्रको चरित्र टोलीले मैदानमा प्रस्तुत गरेको बताउनुभयो ।मेस्सीको जन्मस्थान रोजारियोमा पनि सयौँ समर्थक भेला भएर आतसबाजीसहित टोली र मेस्सीलाई सम्मान व्यक्त गरेका छन् । समर्थक सर्जियो इराजाबलले विश्वकप गुमाए पनि मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको शिखरमा पुर्याइसक्नुभएको भन्दै उहाँको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो ।
