अमेरिका : अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको सुरुवातमा फ्रान्सलाई बलियो दाबेदार मानिए पनि स्पेनले सुरुदेखि नै लय समात्यो । पहिलो हाफको २२औँ मिनेटमा फ्रेन्च डिफेन्डर लुकास डिनले लामिन यमाललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्पेनले पेनाल्टी पायो । पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई झुक्याउँदै मिकेल ओयार्जाबालले सहज गोल गर्दै स्पेनलाई अग्रता दिलाए । जारी विश्वकपमा उनको यो पाँचौँ गोल हो ।स्पेनले दोस्रो गोल ५८औँ मिनेटमा थप्यो । डानी ओल्मोसँग उत्कृष्ट वान–टु–वान पास खेलेका पेड्रो पोरोले फिर्ता आएको बल नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट प्रहार गरेपछि स्पेन २–० ले अघि बढ्यो ।पछिल्ला मिनेटमा फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा उतार्दै खेलमा फर्कने प्रयास गर्यो । तर, गोलकिपर उनाई सिमोनले स्वीपर किपरको भूमिकामा उत्कृष्ट प्रदर्शन गरे भने डिफेन्डर मार्क कुकुरेलाले कप्तान किलियन एमबाप्पेलाई प्रभावहीन बनाइदिए । खेलभर फ्रान्सले लक्ष्यतर्फ दुईवटा प्रहार मात्र गर्न सक्यो ।
सन् २०१० मा विश्वकप जितेको स्पेन त्यसयता पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । उता फ्रान्स भने फाइनल पुग्ने लक्ष्यमा असफल भयो । स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।यस खेलसँगै लामिन यमाल र किलियन एमबाप्पेबीचको व्यक्तिगत प्रतिस्पर्धाले पनि नयाँ चर्चा पाएको छ । सन् २०२४ यता राष्ट्रिय टोली र क्लबस्तरका नकआउट प्रतियोगितामा यमालले एमबाप्पेविरुद्ध लगातार छैटौँ जित निकालेका छन् । अर्थात् नकआउट चरणमा यमालविरुद्ध एमबाप्पे अझै जितविहीन छन् ।सन् २०२४ को युरोकप सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो । त्यसपछि २०२५ को नेसन्स लिग सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गर्यो । क्लब फुटबलमा पनि यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को स्पेनिस सुपरकप फाइनल (५–२), २०२५ को कोपा डेल रे फाइनल (३–२) र २०२६ को सुपरकोपा फाइनल (३–२) मा पराजित गरिसकेको छ । विश्वकप सेमिफाइनलको जितसँगै यमालले एमबाप्पेविरुद्ध आफ्नो अपराजित यात्रा थप बलियो बनाएका छन् ।
सेमिफाइनलअघि यमालले फ्रान्सले स्पेनसँग डराउनुपर्ने प्रतिक्रिया दिएका थिए । खेलको नतिजाले उनको आत्मविश्वासलाई सही सावित गरिदियो । यस खेलमा उनले प्रत्यक्ष गोल नगरे पनि पेनाल्टी दिलाएर टोलीको जितमा निर्णायक भूमिका खेले ।उता एमबाप्पेको विश्वकप यात्रा भने सेमिफाइनलमै टुंगिएको छ । फ्रान्सलाई अन्तिम चारसम्म पुर्याउने क्रममा उनले ८ गोल र ३ असिस्ट गरेका थिए । यही हारसँगै गोल्डेन बुट र उत्कृष्ट खेलाडी बन्ने उनको सम्भावनामा पनि धक्का पुगेको छ । हाल उनी ८ गोलसहित अग्रस्थानमा रहे पनि अर्जेन्टिनाका लियोनल मेसी (८ गोल, १ असिस्ट), इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम (समान ६ गोल) तथा स्पेनका मिकेल ओयार्जाबाल (५ गोल) अझै प्रतिस्पर्धामा छन् ।सन् २०१८ मा पहिलोपटक विश्वकप जितेका एमबाप्पेले २०२२ को संस्करणमा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । तर, यसपटक उनको यात्रा स्पेनसँगको हारसँगै कमजोर भएको छ भने स्पेन १६ वर्षपछि फेरि विश्वकपको उपाधि भिडन्त गर्ने ठाउँमा पुगेको छ ।
