काठमाण्डौ :आज पश्चिम तराईका जिल्लाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको छ । यस्तै देशका धेरैजसो ठाउँका स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ । गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परे पनि अहिले भने वर्षा कम भएको छ ।दिउँसो भने सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेश तराईको एक, दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । यस्तै आज राति पनि गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगमा तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना छ ।
