विराटनगर :समुदायस्तरमै विपद्को प्रभावकारी प्रतिकार्य गर्न सक्ने स्वयंसेवक समूह तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम मोरङका दुई स्थानमा एकैसाथ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेक्वा कंकालिनी, मोरङ र मोरङको रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा सञ्चालन गरिएको ‘समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम’ समापन गरिएको हो । तालिममा मोरङ जिल्लाका विभिन्न स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित ४० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।तालिम अवधिभर उनीहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । साथै, विपद् सचेतनासम्बन्धी विभिन्न गतिविधिसमेत सञ्चालन गरिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेक्वा कंकालिनी मोरङमा आयोजित समापन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र रंगेली नगरपालिका–४ मा आयोजित समापन कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछकुमार गच्छदार प्रमुख अतिथि रहेका थिए ।
समापन कार्यक्रमका अवसरमा प्रशिक्षार्थीहरूले आगलागी नियन्त्रण गर्ने विधि, ग्यास सिलिन्डरबाट हुने चुहावट नियन्त्रण गर्ने उपाय, घाइतेको प्राथमिक उपचार र सुरक्षित उद्धार, साथै घरेलु स्रोत साधनको प्रयोग गरेर बाढीमा उद्धारका लागि आवश्यक सामग्री निर्माण गर्ने तरिकासम्बन्धी व्यावहारिक प्रदर्शन गरेका थिए ।प्रशिक्षार्थीहरूको प्रदर्शनपछि उनीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीसहित सशस्त्र प्रहरीका अधिकृत, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।यस प्रकारको तालिमले समुदायमै दक्ष विपद् स्वयंसेवक तयार गर्न, विपद् आउनुअघि आवश्यक पूर्वतयारी गर्न, विपद्का बेला तत्काल खोज, उद्धार र प्राथमिक उपचारलाई प्रभावकारी बनाउन तथा स्थानीय समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
