काठमाडौं: नेपालमा मनसुन प्रणाली थप सक्रिय भएसँगै देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ । जसले वर्षाको तीव्रता अझ बढाउने संकेत गरेको छ ।महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा जारी छ । आगामी केही घण्टामा विभिन्न क्षेत्रसहित देशका अन्य स्थानमा पनि वर्षा थप फैलिने र तीव्र बन्ने सम्भावना रहेको जनाइएको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसबाट आउने आर्द्र हावाको प्रभाव नेपालभर बढ्नेछ । यही कारण मनसुनी गतिविधि थप सक्रिय बनेको हो । पर्याप्त जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले आगामी दिनमा पनि वर्षाको क्रम जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षासँगै प्राकृतिक विपद्को जोखिम पनि उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी पहाडी क्षेत्रमा भूक्षय, पहिरो र सडक अवरुद्ध हुने जोखिम उच्च रहेको छ भने तराई तथा सहरी क्षेत्रमा डुबानको सम्भावना बढेको छ । लगातारको वर्षाका कारण ठूला तथा साना नदी, खोलानाला र खहरेहरूमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ ।महाशाखाले पहिरोको जोखिम रहेका सडकमार्गमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन, नदी तथा खोलाको बहाव बढ्न सक्ने क्षेत्रबाट अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नागरिकलाई मौसमको पछिल्लो अवस्थाबारे नियमित जानकारी लिन तथा सम्भावित बाढी, पहिरो र डुबानबाट बच्न पूर्वतयारी अवस्थामा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
