१४ आषाढ २०८३, आइतबार

आवतजावत सहज बनाउन थुम्लुङ खोलामा पक्की पुल बन्दै, साल्पासिलिछोका बासिन्दा हर्षित

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

भोजपुर:  भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

साल्पासिलिछो गाउँपालिका-६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयका लागि यो पुल दीर्घकालीन समाधानका रूपमा हेरिएको स्थानीय खगेन्द्र राईले बताउनुभयो । उहाँका अनुसार विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत गर्न जोखिम हुने गरेको थियो । “पुल नहुँदा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या थियो । अब पुल बनेपछि सहज हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब रु चार करोड ९४(चौरान्नब्बे ) लाख ४५ हजार ४५६ लागतमा पुल निर्माण भइरहेको छ । हालसम्म पिलरसहित विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन् ।

एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर हुने उहाँले जानकारी दिनुभयो । ‘ओपन फाउन्डेसन प्रविधि’मा निर्माण भइरहेको उक्त पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यालय प्रमुख रेड्डीले विश्वास व्यक्त गर्नुभयो । यसअघि पुल अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवतीलाई आवागमनमा समस्या हुनाका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सास्ती हुँदै आएको थियो । वर्षायाममा खोला तर्नै नसकिने अवस्था हुँदा दैनिक जीवन प्रभावित हुने गरेको स्थानीय डिल्लीराम बस्नेतले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि यहाँ उत्पादित कृषि उपजको सहज बजारीकरणसँगै व्यापार व्यवसायमा सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विसं २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल विसं २०८४ असोजसम्म सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको छ । पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206