विराटनगर : पूर्वी नेपालको उच्च शिक्षा र प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको विराटनगर इन्टरनेशनल कलेजले १०० करोड रुपैयाँको पूर्वाधार तथा शैक्षिक कार्यक्रम विस्तार योजना सार्वजनिक गरेको छ ।
शुक्रबार एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन् सँगको प्रत्यक्ष शैक्षिक सहकार्यमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेको हो । विराटनगर इन्टरनेसनल कलेजले आफ्ना शैक्षिक कार्यक्रम विस्तार गर्दै बीएससी(अनर्स) साइबर सुरक्षा, बीएससी(अनर्स) अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापन र अन्तर्राष्ट्रिय एमबीए सञ्चालन गर्ने भएको छ। युनिभर्सिटी अफ वुल्भरह्याम्प्टनसँगको साझेदारीमा नयाँ कोर्षहरू थपिएसँगै पूर्वी नेपालमै विश्वस्तरीय ब्रिटिस शिक्षा प्राप्त गर्ने अवसर सिर्जना भएको छ।यसअघि बीएससी(अनर्स) कम्प्युटर साइन्स तथा व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगर इन्टरनेसनल कलेजले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गरेको छ। नयाँ कार्यक्रम थपिएसँगै सूचना प्रविधि, साइबर सुरक्षा, डिजिटल रूपान्तरण तथा अन्तर्राष्ट्रिय व्यवस्थापनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।विराटनगरमा विद्यार्थीलाई स्वदेशमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने मुख्य लक्ष्यसहित इनोभेट नेपाल ग्रुप (आईएनजी) को संचालन तथा व्यवस्थापनमा यो कलेज सञ्चालित छ । यस शैक्षिक समूहका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेशिने बाध्यता हटाउन मेरिल्याण्ड कलेज जस्ता उत्कृष्ट शिक्षण संस्थाहरू मार्फत विराटनगरमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले कलेज स्थापना गरिएकोे बताए ।
यस शैक्षिक विस्तारको मुख्य लक्ष्यबारे जानकारी दिँदैे अध्यक्ष बुढाथोकीले “पूर्वी नेपालका मात्रै नभएर छिमेकी मुलुकका समेत विद्यार्थीले विदेश नगई विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ब्रिटिस शिक्षा आफ्नै क्षेत्रमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले कलेजले शैक्षिक विस्तारलाई तीव्रता दिएको उनले बताए ।युनाइटेड किङडमको प्रतिष्ठित युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन सँगको प्रत्यक्ष साझेदारीमा सञ्चालित शैक्षिक कार्यक्रमहरूले व्यवसाय, सूचना प्रविधि तथा साइबर सुरक्षाका क्षेत्रमा युवाहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने विश्वास व्यक्त गरे ।बुढाथोकीले कलेजको वास्तविक उद्देश्य प्रमाणपत्र वितरणमा मात्र सीमित हुन नहुने बताउदै विद्यार्थीहरूलाई व्यावसायिक, प्रविधिमैत्री तथा उद्यमशील नेतृत्वको रूपमा तयार पार्ने मुख्य लक्ष्य राखेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाले व्यावहारिक र प्रविधिमूलक शिक्षालाई प्राथमिकता दिनुएका बुढाथोकीले बताए । उनका अनुसार नयाँ शैक्षिक परिसरमा अत्याधुनिक स्मार्ट कक्षाकोठा, साइबर सुरक्षा प्रयोगशाला, अनुसन्धान केन्द्र, नवप्रवर्तन तथा उद्यमशीलता केन्द्र, डिजिटल सिकाइ प्रणाली तथा उद्योग–शिक्षा सहकार्यमा आधारित प्रयोगात्मक अध्ययनको व्यवस्था गरिनेछ ।यसले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, अनुसन्धान तथा उद्योगसँग प्रत्यक्ष काम गर्ने अनुभवसमेत दिलाउने अपेक्षा गरिएको छ ।
कलेजले विद्यार्थीको सिकाइ अनुभवलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने तथा विद्यार्थी सन्तुष्टिलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने जनाएको छ ।अध्ययनदेखि करिअर निर्माणसम्म विद्यार्थीलाई निरन्तर सहजीकरण गर्दै रोजगारमुखी तथा भविष्यकेन्द्रित शिक्षा प्रदान गर्ने नीति कलेजले लिएको छ ।यसैगरी, अन्तर्राष्ट्रिय साझेदार संस्था तथा उद्योगसँगको सहकार्य विस्तार गर्दै नेपाली युवालाई विश्वव्यापी रोजगारीका अवसरसँग जोड्ने, अनुसन्धान र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने तथा पूर्वी नेपाललाई ज्ञान, सूचना प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य कलेजले अघि सारेको छ । बुढाथोकीले “हाम्रो संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको ९८(अन्ठान्नब्बे ) प्रतिशत रोजगारीसँग जोडिएका हुन्छन् । त्यसलाई हामी सहजीकरण पनि गर्दछौं । त्यसकारण रोजगारकेन्द्रित शिक्षा नै आजको आवश्यकता हो,“ भन्ने बताए ।उनका अनुसार कलेजको शैक्षिक मोडेलले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने नभई अन्तर्राष्ट्रिय बजारको आवश्यकता अनुसार प्रतिस्पर्धी, नवप्रवर्तनशील, उद्यमशील र नेतृत्वदायी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।करिब १०० करोड रुपैयाँको लगानीमा पूर्वी नेपालको शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ आयाम थप्दै विराटनगर इन्टरनेसनल कलेजले आफ्नो पूर्वाधार तथा शैक्षिक कार्यक्रम विस्तारको घोषणा हो । यस विस्तार योजनाले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै अनुसन्धान, नवप्रवर्तन र रोजगारी सिर्जनामा दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएको छ ।




