त्रिवेणी (नवलपरासी): कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ ।
कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु दुई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो । दुग्ध उत्पादन गर्ने किसानले सहकारीमा बिक्री गरेको दूधका आधारमा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइएको हो ।कावासोती नगरपालिकाका पाँचवटा सहकारीमा सङ्कलन भएको दूधका आधारमा १५ लाख ४३ हजार ११३ लिटरका लागि अनुदान उपलब्ध गराइएको आचार्यले बताउनुभयो । गत वर्षको उत्पादनका आधारमा रु २८ लाख अनुदानका लागि विनियोजन गरिएकामा यसपटक उत्पादन वृद्धि भएकाले सोहीअनुसार केही अनुदानको दरलाई कम गरेर सबै किसानलाई अनुदान उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । दूधमा प्रदान गरिएको अनुदानले थोरै भए पनि किसानले लाभ लिएको र उत्पादन लागत घटाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।
साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ र नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत सङ्कलित दूधका लागि किसानलाई अनुदान उपलब्ध गराइएको हो । यी सहकारीमा बिक्री भएको दूधका किसानलाई सहकारीले दिने दरमा नगरपालिकाको अनुदान थप गरेर दिने व्यवस्था गरिएको छ ।नगरप्रमुख विष्णुप्रसाद भुसालका अनुसार उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने भएकाले नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । दूधमा अनुदान दिँदा किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने र यसले किसानलाई फाइदा पुग्ने र उत्पादन बढाउन हौसला मिल्ने विश्वास नगरपालिकाले लिएको छ ।कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षक पनि उत्पादनमा आधारित अनुदानका लागि रु ५४ लाख बजेट विनियोजन गरेको छ । दूध, माछापालनसहितका कार्यक्रममार्फत किसानलाई अनुदान दिन नगरपालिकाको मङ्गलबार भएको नगरसभाले उक्त रकम विनियोजन गरेको पशु विकास अधिकृत आचार्यले राससलाई जानकारी दिनुभयो ।
