०४ आषाढ २०८३, बिहिबार

भाेजपुर बोयामा देवधरा खतिवडाको स्मृतिमा बृहत् शैक्षिक तथा सामाजिक सम्मान सम्पन्न

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

बोया (भोजपुर) ।  “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” को मर्मलाई आत्मसाथ गर्दै शिक्षा, संस्कृति र समाज रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालय र संघ–संस्थालाई सम्मान तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको छ। भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा माता स्व. देवधरा खतिवडाको स्मृतिमा आयोजित विशेष कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

कार्यक्रममा बिहीबारे आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित ‘आनन्दमनोहर–देवधरा खतिवडा स्मृति शैक्षिक सम्मान’ बाट सम्मानित गरिएको छ। साथै, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल भाषा मंका खल, नेपाल मगर संघ, किरात राई यायोख्खा र शिवालय मन्दिर नाङ्खिलालाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ। यसका अतिरिक्त, समाज रूपान्तरणमा विशेष योगदान पुर्‍याएको भन्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र वडा नं. १४ का अध्यक्ष झंकबहादुर रोकालाई गरिमामय सम्मान अर्पण गरिएको छ।

यस अवसरमा शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले तीन जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ, जसमा सिंहदेवी आधारभूत विद्यालयका कक्षा ६ का कुशल चौहान, बिहीबारे आधारभूत विद्यालयका कक्षा ५ का दिप्सन तामाङ र महेन्द्रोदय माविका कक्षा १० का सागर राई रहेका छन्।

यसैगरी, विद्यार्थीहरूको खेलकुद विकासका लागि बोयास्थित महेन्द्रोदय मावि, बिहीबारे आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्रकुमार उदासले पूर्व विद्यार्थीहरूले आफूले पढेको विद्यालय र आफ्नो स्थानीय संघ–संस्थाको विकास एवं समृद्धिका लागि कार्य गर्नु निकै प्रशंसनीय र अनुकरणीय रहेको बताए।

रामहरि खतिवडाको अध्यक्षता र कमलहरि खतिवडाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महेन्द्रोदय माविका प्रधानाध्यापक टेकबहादुर चौहान, सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान, बिहीबारे आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठ, षडानन्द–१३ का वडाध्यक्ष पदमबहादुर तामाङ, पूर्व अध्यक्ष इन्द्रकुमार श्रेष्ठ, महेन्द्रोदय मावि व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङ र वातावरण पत्रकार दीलिप काफ्ले लगायतकाे उपस्थिति रहेको थियो।

मातापिताप्रतिको सम्मान र श्रद्धास्वरूप आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा शिक्षा र समाज सेवाको क्षेत्रमा थप ऊर्जा प्रदान गरेको छ। बोयामा स्वर्गीय देवधराको स्मृतिमा बुधबारबाट आँखा शिविर सञ्चालन भई रहेको छ । सो शिविर शनिबारसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206