काठमाडौँ: नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।
गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य र सदस्यहरूमा वसन्तकुमार श्रेष्ठ, अविस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) रहनुभएको छ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको यही जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई रेडक्रसमा डिजिटल सदस्यता प्रणाली विकास गरी दर्ता, नवीकरण, अद्यावधिक गराउने व्यवस्था गर्ने तथा सदस्यता विस्तार गर्न जिम्मेवारी दिइएको छ ।
साथै समितिलाई सामाजिक सञ्जाल समेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न पहल गर्ने, हालको साङ्गठनिक संरचनालाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्थाबमोजिम पुनःसंरचना गर्ने, डिजिटल अद्यावधिक सदस्यबाट सोसाइटीको निर्वाचन गराउनेलगायत जिम्मेवारी प्राप्त छ ।
