गण्डकी: यही असार ९(नौ) (जुन २३) मा पर्ने अन्तरराष्ट्रिय ओलम्पिक दिवस पोखरामा विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको छ ।
नेशनल ओलम्पिक एकेडेमी नेपाल, प्रदेश खेलकुद परिषद्, नेपाल भूतपूर्व खेलाडी मञ्चलगायत खेलसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा दिवस मनाउन लागिएको हो ।साताव्यापी कार्यक्रमअन्तर्गत मङ्गलबार प्रदेश खेलकुद परिषद्का पदाधिकारी, सदस्य र प्रदेशस्तरीय खेल सङ्घका पदाधिकारीलाई ध्यान अभ्याससहित ओलम्पिकको इतिहास र ओलिम्पक अभियानबारे अभिमुखीकरण गरिएको एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँले ओलम्मिक शिक्षा विश्वव्यापी रूपमा प्रसार भइरहेको सन्दर्भमा यसको इतिहास र महत्व बुझाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।ओलम्पिकलाई कुनै पदक र मनोरञ्जनका लागि मात्र नभएर व्यक्ति र समाज रुपान्तरणको माध्यमका रूपमा लिनुपर्ने उहाँको भनाइ छ । बिहीबार जिल्ला खेलकुद विकास समिति, कास्कीका पदाधिकारी र सम्बन्धित खेल सङ्घका पदाधिकारीहरूलाई सोही विषयमा अभिमुखीकरण प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
आगामी शनिबार पोखरा महानगरपालिका–१ सँगको सहकार्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पाँच किलोमिटर सडक दौड प्रतियोगिताको आयोजना गरिएको छ । असार ७ गते आइतबार ओलम्पिककै विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिँदैछ ।नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरमा सोमबार खेल प्रशिक्षक र खेलाडीलाई ओलम्पिक अभियानका विषयमा अभिमुखीकरण गरिने एकेडेमीले जनाएको छ । सोही दिन पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका पदाधिकारीसहितको सहभागितामा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।दिवसको अवसर पारेर ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तरराष्ट्रिय एकताको प्रतीकका रूपमा यसको महत्वबारे प्रशिक्षित गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।उहाँका अनुसार विश्वभरका २०६ राष्ट्रिय ओलम्पिक समितिहरूले विभिन्न खेल गतिविधिमार्फत दिवस मनाइरहेका छन् । सोही क्रममा नेपालमा पनि साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना भइरहेको उहाँले बताउनुभयो ।
