०१ आषाढ २०८३, सोमबार

असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ:नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।देशका विभिन्न भाग हुँदै विद्यार्थीहरू भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्वशान्तिको सङ्कल्पले स्वस्तिवाचन गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ ।माल्यार्पण र स्वस्तिवाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कुल)मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ८०औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206