काठमाण्डौ: नेपालमा मनसुन भित्रिने औसत मिति आज अर्थात् जुन १३ तारिख हो ।
यस वर्षको मनसुनी वायु नेपालको सीमा आसपास छ । पूर्वी वायु अर्थात् मनसुनी वायुको आंशिक प्रभाव शुरु भएको केही दिन भएपनि मनसुन भित्रन ढिलाइ भएको हो ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार तोकिएको सरदर मिति आज भएपनि मनसुन भित्रिने सम्भावना कम छ । उहाँका अनुसार महाशाखाले मनसुन भित्रने अवस्थाबारे अध्ययन गरिरहेको छ ।मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारीका घोषणा गर्ने तयारी छ । पोहोर सरदर मितिभन्दा १५ दिन छिटो जेठ १६ मै मनसुन नेपाल प्रवेश गरेको थियो । तर १५ दिन छिटो नेपाल भित्रिएपनि लामो समय मनसुन पुर्वी भागमै बसेको थियो ।
नेपालमा मनसुन अवधिमा वर्षभरको झण्डै ८० प्रतिशत वर्षा हुन्छ । मनसुन भित्रिएपछि बाहिरीने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यसवर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।यसैबीच आज कोशी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बाँकी पहाडी र तराई भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
