२९ जेठ २०८३, शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान सुरु

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

कास्की:गोरखाका पर्यटन व्यवसायीले पोखरासहित आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान सुरु गर्ने निर्णय गरेका छन् ।

होटल सङ्घ गोरखाको पहलमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा भ्रमणको निम्तो दिएका हुन् । सङ्घले आज पोखरामा पृथ्वी होटल व्यवसायी समितिसँगको सहकार्यमा पर्यटकीय सम्भावनाका बारेमा अन्तरक्रिया तथा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन सम्भावना उजागर गरेको हो ।पर्यटन व्यवसायीहरूले पोखरा र गोरखाबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै पर्यटक आवागमन बढाउने उद्देश्यले प्रवर्द्धनात्मक अभियान निरन्तर सञ्चालन गर्नेमा जोड दिएका छन् । गोरखाको प्रमुख आकर्षकमध्ये मनकामना मन्दिर धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य मानिनुका साथै केबलकारमार्फत सहज पहुँच हुने यस मन्दिरमा देश तथा विदेशबाट हजारौँ भक्तजन पुग्ने गरेकाले यस क्षेत्रको प्रवर्द्धन जोड दिइएको होटल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले बताउनुभयो ।यसैगरी विश्वको आठौँ अग्लो हिमाल मनास्लुसहित मनास्लु संरक्षण क्षेत्रलगायतले गोरखामा साहसिक तथा पदयात्रा पर्यटनलाई थप आकर्षक बनाएको उहाँको भनाइ छ । गोरखा नेपालको एकीकरणको उद्गमस्थल मात्र नभई ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लाका रूपमा परिचित रहेकाले गोरखाको भ्रमणबाट मात्र नेपाल बुझ्न सकिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट, गोरखनाथ गुफा, गोरखकाली मन्दिर, मनास्लु क्षेत्र, उपत्यका तथा विभिन्न हिमश्रृङ्खलाले गोरखालाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाएको उहाँको भनाइ छ । “गोरखा घुमेर मात्र गण्डकीको पर्यटन पूर्ण हुन्छ । नेपाल एकीकरण यहीँबाट सुरु भएकाले नेपाल बुझ्नका लागि गोरखा पुग्नै पर्छ । पर्यटकले इतिहास, संस्कृति र प्रकृतिको अनुपम सङ्गम अनुभव गर्न सक्छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि एकअर्का सहरमा रहेका व्यवसायका बीचमा निरन्तर रूपमा अन्तरक्रिया अनुभव आदानप्रदान आवश्यक छ”, श्रेष्ठले भन्नुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन, लुम्बिनी जोडेर ‘सिल्भर ट्रायङ्गल’को अवधारणा विकास भएको जनाउँदै यसमा बन्दीपुर र गोरखालाई समावेश गर्ने बोर्डको योजना रहेको बताउनुभयो ।गोरखाको गोखनाथ बाबा र भारतको गोरखपुरबीच भाइचाराको सम्बन्ध विस्तार गर्ने सोचमा अफूहरू रहेको उहाँले बताउनुभयो । “पोखराबाट गोरखासम्मको छोटो दूरी, सहज यातायात पहुँच तथा ऐतिहासिक सम्पदाको संरक्षणले पर्यटन विकासको ठूलो सम्भावना छ”, लामिछानेले भन्नुभयो ।

ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पोखराबाट गोरखासम्म पर्यटकीयस्तरको सुविधा सम्पन्न बस दैनिक रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी महासङ्घ केन्द्रीय सदस्य बालकृष्ण न्यूरेले नेपालको इतिहास बुझ्न गोरखा जानुपर्र्छ भनेर सबैलाई बुझाउनु आवश्यक रहेकामा जोड दिनुभयो । पृथ्वी होटल व्यवसायी समितिका पूर्वअध्यक्ष अम्बिका घिमिरेले गोरखामा आएका पर्यटक पोखरा र पोखरा आएका पर्यटक गोरखा जाने वातावरण बनाउनुपर्ने बताउनुभयो । पृथ्वी दर्शन गोर्खाका कार्यवाहक अध्यक्ष कृष्ण लामिछाने, पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष मोती श्रेष्ठलगायत वक्ताले गण्डकी प्रदेशका पर्यटकीय स्थलहरूको एउटा छुट्टै प्याकेज बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206