२८ जेठ २०८३, बिहिबार

फिफा विश्वकप २०२६ : विश्व फुटबलको महाकुम्भ

Logo
नवलप्रसाद उपाध्याय बिहिबार, जेठ २८, २०८३

विश्वकप केवल खेल मात्र होइन, विश्व एकताको प्रतीक पनि हो। विभिन्न भाषा, संस्कृति, धर्म र परम्पराका मानिसहरू एउटै भावनाले जोडिने अवसर विश्वकपले प्रदान गर्छ। यही कारणले फिफा विश्वकपलाई खेलकुदको महाकुम्भ भन्ने गरिन्छ।

विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट भव्य रूपमा सुरु हुँदैछ। चार वर्षको प्रतीक्षापछि आयोजना हुन लागेको यो महाकुम्भले विश्वभरका करोडौं फुटबलप्रेमीको ध्यान आकर्षित गरेको छ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ,जसमा ४८ राष्ट्रले सहभागिता जनाउँदै १०४ खेल खेल्नेछन्।

फिफा विश्वकपको इतिहास सन् १९३० मा सुरु भएको थियो। पहिलो विश्वकप उरुग्वेमा आयोजना गरिएको थियो, जहाँ आयोजक उरुग्वे नै पहिलो विश्व विजेता बनेको थियो। विश्वकप २०२६ मा करिब १२४८ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। मैदानमा भने प्रत्येक खेलमा दुई टोलीका ११/११ जना गरी २२ जना खेलाडी एकै समयमा खेलिरहेका हुन्छन्, जबकि बाँकी खेलाडीहरू बेन्चमा वैकल्पिक खेलाडीका रूपमा रहन्छन्। विश्वकप २०२६ मा कुल १०४ खेल खेलिनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो।

यसपटकको विश्वकपको विशेषता भनेको पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्नु हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा प्रतियोगिता सञ्चालन गरिरहेका छन्। विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोको राजधानी मेक्सिको सिटीस्थित ऐतिहासिक “मेक्सिको सिटी स्टेडियम” मा आयोजना हुँदैछ। यो मैदानले यसअघि १९७० र १९८६ को विश्वकप उद्घाटन खेल तथा फाइनल खेलको समेत आयोजना गरिसकेको छ। अब तेस्रो पटक विश्वकप उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको छ।

आजको उद्घाटन खेलमा आयोजक राष्ट्र मेक्सिकोले साउथ अफ्रिका सँग प्रतिस्पर्धा गर्दै विश्वकपको औपचारिक सुरुआत गर्नेछ। उद्घाटन समारोह खेलअघि आयोजना हुनेछ। मेक्सिको समय अनुसार जुन ११ दिउसो १ बजे हुनेछ भने खेल नेपाली समयअनुसार “जून १२, शुक्रवार मध्यरात्रि १२:४५” प्रसारण हुने तालिका रहेको छ।

फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरिएको छ। यसअघि ३२ टोली मात्र सहभागी हुने प्रतियोगिता अब विस्तार गरिएको हो। यसले विश्वका थप राष्ट्रहरूलाई विश्वकप खेल्ने अवसर प्रदान गरेको छ। समूह चरणपछि नकआउट चरण हुँदै अन्तिम फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित “मेट लाइफ स्टेडियम” मा हुनेछ।

फुटबलप्रेमीहरूका लागि आगामी एक महिनाभन्दा बढी समय उत्साह, रोमाञ्च र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहनेछ। विश्व फुटबलको नयाँ सम्राट को बन्नेछ भन्ने प्रश्नको उत्तर आगामी केही साताभित्र प्राप्त हुनेछ। तर अहिलेका लागि सम्पूर्ण विश्वको ध्यान मेक्सिको सिटीतर्फ केन्द्रित छ, जहाँबाट विश्व फुटबलको अर्को स्वर्णिम अध्याय सुरु हुँदैछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206