विराटनगर:पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समाचार लेखन तथा पत्रकारिता आचारसंहिता सम्बन्धी तिनदिने तालिम आज आईतवार सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगर महानगरपालिकासँगको सहकार्यमा सञ्चालित तालिममा प्रशिक्षक अग्रज पत्रकार यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडाले सहभागीहरूलाई समाचार लेखनका आधारभूत सिद्धान्त, समाचारको संरचना, सत्यता, निष्पक्षता, उत्तरदायित्व, तथ्यपरक रिपोर्टिङ, स्रोतको प्रयोग तथा पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र सञ्चार क्षेत्रलाई अझ व्यावसायिक र भरपर्दो बनाउन साथै समाचार लेखन सीप सुधार गर्न तथा पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । आयोजक संस्थाले यस्ता क्षमता विकासमूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
