२३ जेठ २०८३, शनिबार

संकट चिर्दै सफलता: अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

Logo
Pulse Khabar शनिबार, जेठ २३, २०८३

भोजपुर: भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत–साधनका बाबजुद पनि निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा पहुँचमा राख्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो विद्यालय अहिले विभिन्न चुनौतीसँग जुध्दै अघि बढिरहेको छ ।विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई मात्र शिक्षक कार्यरत रहेका छन् । एक दरबन्दी रिक्त हुँदा त्यसको पूर्ति करारमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ ।विद्यालय सञ्चालनका लागि हाल शिक्षक तथा कर्मचारी गरी १५ जना कार्यरत रहेका छन् ।तीमध्ये दुई, स्थायी (प्रावि) चार, करार तीन, निजी स्रोत दुई, राहत तीन जना सङ्घीय अनुदानमा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले जानकारी दिनुभयो ।विसं २०३१ मा स्थापना भएको यस विद्यालयले विगत पाँच दशकदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ । समयअनुसार विद्यालयले व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार गर्ने प्रयास पनि गरिरहेको छ । विविध अभावबीच पनि विद्यालय प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन विशेष पहल गरिएको छ ।प्रत्येक विद्यार्थीको विद्यालय भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ । सोही अभिलेखका आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने गरिएको प्रधानाध्यापक मण्डलले बताउनुभयो ।प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको यस विद्यालयलाई आर्थिक अभावलेसमेत असर पारेको छ । त्यसका बाबजुद विद्यालयले विगतमा राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ ।

विद्यालयले २०७७ साल र २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा सतप्रतिशत नतिजा ल्याएको थियो । त्यसैगरी २०७८ सालमा ८८ प्रतिशत, २०७९ सालमा ९२(बयान्नब्बे) प्रतिशत र २०८० सालमा ९०(नब्बे) प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ ।चालु वर्षको परीक्षामा भने १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयको योजना रहेको छ । यस वर्ष समग्र नतिजा कमजोर रहे पनि पालिका उत्कृष्ट छात्रा यही विद्यालयबाट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिनुभयो । “धेरै चुनौतिबीच विद्यालय सञ्चालन गरेका छौँ” प्रधानाध्यापक मण्डलले भन्नुभयो,” यहाँ मुख्य रूपमा जनशक्ति, भौतिक संरचना तथा आर्थिक अभाव छ ।” नियमित कक्षा सञ्चालन, विद्यार्थीको हाजिरी व्यवस्थापन, शैक्षिक मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले स्रोतसाधन र जनशक्ति अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई सहज तथा निरन्तर शिक्षा प्रदान गर्नु प्राथमिकता रहेको बताउनुभयो । आर्थिक श्रोत र जनशक्ति अभाव विद्यालय सञ्चालनको मुख्य चुनौती बनेको उहाँको भनाइ छ । “हामीसँग पर्याप्त दरबन्दी र पूर्वाधार छैन, उहाँले भन्नुभयो,” तर पनि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ ।” विद्यालय सञ्चालन तथा ऋण तिर्न देउसी–भैलोलगायत विभिन्न गतिविधि सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।हाल विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षा कोठा अभावका कारण पठनपाठनमा चुनौती थपिएको छ । कोठा अभावमा विज्ञान प्रयोगशाला र कक्षाकोठा एउटै स्थानबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले प्रयोगात्मक शिक्षामा असर पार्ने गरेको विद्यालयले जनाएको छ ।विद्यालयले सीमित स्रोतसाधनकैबीचमा पनि शैक्षिक गुणस्तर सुधारका विभिन्न प्रयासलाई निरन्तरता दिँदै आएको स्थानीयबासी टेकबहादुर बस्नेतले बताउनुभयो । यहाँ माध्यमिक विद्यालय सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने उहाँको भनाइ छ । दीगो र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न राज्यले आर्थिक व्यावस्थानसँगै दरबन्दी थप र पूर्वाधार विकासमा सहयोग गर्न आवश्यक रहेको बस्नेतले बताउनुभयो । यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो विद्यालय २०७७ सालदेखि प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206