झापा: इलामको रोङ गाउँपालिकाले कृषि पेसालाई थप सम्मानित, दिगो र उद्यमशील बनाउने उद्देश्यका साथ ‘गुरु किसान मार्गदर्शन’ पुस्तक प्रकाशन गरेको छ ।
वर्षौंदेखि खेतबारीमा सङ्घर्ष गर्दै आएका किसान नै वास्तविक विज्ञ हुन् र उहाँहरूको अनुभवलाई ज्ञानमा रूपान्तरण गर्दै अन्य किसानलाई हस्तान्तरण गर्ने लक्ष्यसहित दुई वर्ष अघिदेखि सुरु गरेको ‘गुरु किसान’ कार्यक्रमलाई समेटेर पुस्तक निकालिएको पालिकका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।डा योगेन्द्रमान श्रेष्ठ र लोकप्रिय खनालले तयार पार्नुभएको पुस्तकमा दीगो तथा प्राङ्गरिक कृषि प्रणाली, माटो र पानीको संरक्षण, जलवायु परिवर्तन अनुकूलन, कृषि उद्यम व्यवस्थापन, वित्तीय डिजिटल साक्षरतादेखि बजार, मूल्य श्रृङ्खला र जोखिम व्यवस्थापनका विषयलाई सरल भाषामा उल्लेख गरिएको छ ।
“हाम्रो प्रयास उत्पादनमा मात्र सीमित छैन”, पालिका अध्यक्ष स्याङ्बो भन्नुहुन्छ “उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउँदै स्थानीय रोजगारी सिर्जना, आय बृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्नु हाम्रो लक्ष्य हो ।” उहाँले पुस्तक पढ्ने हरेक किसान, उद्यमी, विद्यार्थी र सरोकारवालामा ‘म पनि गुरु किसान’ बन्न सक्छु भन्ने आत्मविश्वास जागृत हुने अपेक्षा गरेको बताउनुभयो । पुस्तक १३ वटा खण्डमा विभाजन गरेर २७६ पृष्ठको निकालिएको छ ।गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासका अनुसार नेपालमै पहिलोपटक ‘गुरु किसान’को नौलो अवधारणालाई कृषि विकास र उद्यमशीलताको मूल प्रवाहमा स्थापित गर्ने प्रयास पालिकाले गरेको हो ।
