

काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा मोंग कोक मैदानमा हुने छ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी २० आई सिरिज खेल्नु भन्दा अघि आज हङकङसँग खेल्न लागेको हो ।
हङकङ भ्रमणमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् । हङकङ भ्रमण नयाँ पुस्ताका खेलाडीहरुको लागि अवसर रहेको छ । विवेक यादव र सन्दीप जोराको लागि भ्रमण महत्वपूर्ण हुने छन् । युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइमा पर्न सक्ने छन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका मुख्य खेलाडी रहेका छन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपाल धेरै निर्भर हुनेछ ।
उता हङकङका दक्षिण अफ्रिकी मुलका मार्टिन कोट्जी, बाबर हायत, अंशुमन रथ र निजाकत खान प्रमुख ब्याटर हुन् । नेपाल र हङकङबीच हालसम्म ७ टी २० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।
त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ । नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा रहेका छन् । यस्तै सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरापनि टोलीमा सहभागी छन् ।