नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : युवा तथा खेलकुदमन्त्री
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८२
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ । मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताउनुभयो ।
“शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो”, मन्त्री गुप्ताले भन्नुभयो, “यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।” उहाँले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गर्नुभयो । “यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ”, उहाँले थप्नुभयो, “अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।”