चितवन, असोज २२ । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या छ जनामा पुगेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार साउन महिनादेखि अहिलेसम्म उक्त रोगका कारण दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका बासिन्दाको मृत्यु भएको हो।
सबैभन्दा पछिल्लो मृत्यु खैरहनी नगरपालिका–४ की एक महिलाको भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले बताए ।
हालसम्म जिल्लामा १७ जनामा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १० जना महिला र सात जना पुरुष रहेका छन् ।
सङ्क्रमितमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षबीचका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।
केसीका अनुसार १५ जना संक्रमितले खोप नलगाएका थिए भने बाँकी दुई जनाको खोप अवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै सात जना भरतपुर महानगरपालिका क्षेत्रका रहेका छन् । मृत्यु भएका मध्ये एक जना ८९ वर्षीय, अर्को ८१ वर्षीय, दुई जना ७० वर्षीय, एक जना ३९ वर्षीय र अर्को ४२ वर्षीय व्यक्ति रहेका जनाइएको छ ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यस्तो लामखुट्टे प्रायः घरबाहिर बस्न रुचाउने, साँझ र बिहान बढी सक्रिय हुने र धान खेतजस्ता स्थानमा अण्डा पार्ने गर्दछ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार यो लामखुट्टेले सुँगुर, हाँस, बङ्गुरजस्ता पशुपक्षीलाई टोक्दा भाइरस सार्ने सम्भावना बढी हुने बताइएको छ।