

विराटनगर । विराटनगरमा सम्पन्न प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १७ ले जितेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा भएको खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै १७ नम्बर वडाले उपाधि चुमेको हो । उपाधि विजेता वडा नम्बर १७ ले नगद ३१ हजार रुपैयाँ तथा उपविजेताले नगद २१ हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वडा नम्बर १७ का खेलाडी मोहम्मद सहमद आलम र उदीयमान खेलाडीको पुरस्कार वडा नम्बर १४ का अनिस यादवले हात पारे । विजेता तथा उपविजेता टिमलाई नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापा लगायतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व केन्द्र्रीय सदस्य विनोद ढकालले खेलकुदको माध्यमबाट सबै समूदायलाई एकताको सुत्रमा बाँध्न सकिने भन्दै सबै खेल क्षेत्रको विकासको लागि सबै पक्ष लाग्नु पर्ने बताउनुभयो ।
यस्तै एमाले विराटनगर अध्यक्ष सागर थापाले खेल क्षेत्रको विकासको लागि नेकपा एमालेले सधै साथ सहयोग रहने बताउनुभयो । उहाँले मदन भण्डारी स्पोट्स एकेडेमीले विराटनगरको खेल क्षेत्रको विकास गर्न तथा खेलकुदका लागि विराटनगरको दक्षिणी क्षेत्रलाई प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतियोगितामा विराटनगरका १२ वटा वडाको सहभागिता आयोजक समितिका अध्यक्ष गोपाल झाले बताउनुभयो ।