१७ कार्तिक २०८३, सोमबार

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

Logo
Pulse Khabar सोमबार, कार्तिक १७, २०८३

भद्रपुर (झापा): भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उहाँले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री रावलले भन्नुभयो, “यतिका दिनसम्मको प्रगति सन्तोषजनक मान्न सकिँदैन । भूमिहीनलाई हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने हो, तर अपेक्षित उपलब्धि देखिएको छैन ।”सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उहाँले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताउनुभयो । समस्या समाधानका लागि सरकार गम्भीर जनाउँदै उहाँले अब प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।“जिल्ला भूमि समस्या समाधान समितिलाई प्रशासनिक रूपमा काम गर्न अब कुनै समस्या छ जस्तो मलाई लाग्दैन । सरकार यो समस्या समाधान गर्न दिन गनेर लागि परेको छ”, उहाँले भन्नुभयो, “त्यसैले परिणाम देखिने गरी कामलाई तीव्रता दिनुहोस् ।”

सरकारको प्राथमिकताअनुसार भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गरी पुर्जा वितरणको कामलाई उपलब्धिमूलक बनाउन उहाँले निर्देशन दिनुभयो । प्रतिनिधिसभा सदस्यत्रय प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले पनि भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्न कामलाई तीव्र तुल्याउन सुझाव दिनुभयो । जनताको गुम्दै गएको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा हालसम्म भएका प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै पुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । थप जनशक्तिसहित टोली परिचालन भइसकेकाले आगामी दिनमा कामको स्पष्ट परिणाम देखिने उहाँले विश्वास दिलाउनुभयो । जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय झापाका प्रमुख शिवप्रसाद लम्सालका अनुसार जिल्लामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले आआफ्नो पालिकामा भूमि समस्या समाधानका लागि भएका प्रगति र आगामी कार्ययोजनाबारे कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206