भद्रपुर (झापा): विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ ।
विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलले विद्यालय तहबाटै लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण शिक्षकले समयमै पहिचान गर्नसके आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो ।जिल्ला प्रशासन कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रशासन वा सुरक्षा निकायको प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै शिक्षक, स्थानीय तह, नगर प्रहरी, समुदाय तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ ।
अभियानलाई क्रमशः विस्तार गर्दै पुनःस्थापना केन्द्र (रिहाब सेन्टर)लगायतका संस्थालाई तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ ।जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुव्र्यसन न्यूनीकरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक, विद्यार्थी र समुदायका सबैपक्षको सक्रिय सहभागिताबाट मात्रै यसको रोकथाम प्रभावकारी हुने बताउनुभयो । प्रहरी र स्थानीय तहको सहकार्यमा विद्यालयमा लागुऔषध विरुद्धका पोस्टर टाँस्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम निरन्तर भइरहेको जानकारी दिँदै उहाँले युवालाई लक्षित सचेतना कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ, निजी तथा आवासीय विद्यालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो ।
