इटहरी:सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय बालक पक्राउ छन् ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार राति करिब ९ बजे अभिषेक चौधरीको डेराकोठामा लागुऔषध कारोबार भइरहेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा लुकाएर राखिएको ट्रामोल ५ हजार २७० क्याप्सुल र डाइसाइक्लोमिन ५ हजार ५१० ट्याब्लेट फेला पारेको थियो ।
प्रहरीले उक्त लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको र पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
