विराटनगर:मोरङ प्रहरीले विराटनगरबाट करिब २० लाख रुपैयाँ मूल्यको भारतीय नम्बर प्लेट भएको स्कार्पियो गाडी बेवारिसे अवस्थामा फेला पारेको छ ।
विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारमा सोमबार गाडी फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक (असई) डम्बर गिरीको कमान्डमा खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडी रोक्नसाथ छाडेर चालक फरार भएका थिए ।चालक फरार भएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । महिन्द्रा कम्पनीको सेतो रङको बीआर ११ पीए ४२५४ नम्बरको उक्त स्कार्पियो गाडीको इन्जिन नम्बर एसजेजी४सी१२२३४ र चेसिस नम्बर एमए१टीए२एसजेएक्सजी२सी२७९०१ हो ।
आवश्यक कागजातसमेत फेला नपरेपछि भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा गाडी नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त गाडी विराटनगर भन्सार कार्यालयमा पठाइएको जानकारी एसपी कटवालले दिए ।उनका अनुसार कागजपत्र समेत नभएकोले गाडी चोरी पैठारी गरी नेपाल ल्याइएको हुन सक्ने आशंका गरिएको छ । फरार भएका चालकको पनि खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
