काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गर्नुभएको हो ।नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उहाँले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पुर्याएको पनि बताउनुभयो । उहाँले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गर्नुभयो ।
