रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताउनुभएको छ ।जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ । पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको उहाँले बताउनुभयो । आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीले जनाएका छन् ।पश्चिमा मुलुकहरूबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको बताउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार यही धारणा दोहो¥याउँदै अघिल्लो रातको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताउनुभयो । यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालन प्रभावित भएको जेलेन्स्कीले बताउनुभएको छ । अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती बढाएको छ ।रुसी रक्षा मन्त्रालयले युक्रेनभित्रका विभिन्न सैन्य तथा औद्योगिक लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ । ती लक्ष्यमा डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपो रहेको मन्त्रालयको दाबी छ ।युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताउनुभएको छ । उहाँका अनुसार, किएभले युद्धविरामका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिएको छ ।
तर, रुसी आक्रमण र युद्ध लम्ब्याउने मस्कोको चाहनाका कारण युद्ध जारी रहेको उहाँको भनाइ छ । ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयास पनि सफल हुन सकेन ।यता, युक्रेनले रुसको भित्री भू–भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका हतियार प्रयोग गर्दै तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइरहेको छ । आइतबार युक्रेनले रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको जनाएको छ । ती आक्रमणका कारण सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र भण्डारण केन्द्रमा आगलागी भएको विवरण सार्वजनिक भएको छ ।पश्चिमा विश्लेषक तथा अधिकारीहरूका अनुसार, युक्रेनलाई प्राप्त हुने विदेशी सहयोग कमजोर हुने समयसम्म पर्खेर आफ्नो सैन्य शक्तिको बलमा अघि बढ्न सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आकलन छ । युक्रेनमा भने अमेरिकी सहयोग घट्न सक्ने चिन्ता बढिरहेको छ ।
