

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा नेपाल र श्रीलंका लगातार दोस्रोपटक आमनेसामने हुन लागेका हुन् ।
यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई सहजै ७–० गोलअन्तरले हराएको थियो । आजको खेल बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समय अनुसार दिउँसो २: ४५ बजे सुरु हुनेछ ।
अघिल्ला खेलहरू बसुन्धरा किङ्स एरेनामा हुँदै आएको भए पनि भारी वर्षाका कारण मैदान बिग्रिएपछि अबका खेलहरू बसुन्धरा स्पोर्ट्स मैदानमा सारिएका हुन् । मंगलबारको दिनमै नेपाल र श्रीलंकाबीचको खेल ढिलागरी नयाँ मैदानमा गरिएको थियो ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । श्रीलंकाले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । उसले पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० ले हार बेहोरेको छ ।
अहिलेसम्मको अंकतालिकामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित दोस्रो र भुटान ३ अंकसहित तेस्रो स्थानमा छन् ।
चार टोली सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिन फर्म्याटमा खेलहरू भइरहेका छन् । अन्तिममा सबैभन्दा बढी अंक हासिल गर्ने टोली प्रतियोगिताको विजेता घोषित हुनेछ ।