काठमाडौँ:पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ ।एनभिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् । लिग चरणमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो । काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ ।
आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा पुगिसकेको छ ।नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलोपटक आयोजना गरिएको हो । भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु २० लाख पुरस्कार प्राप्त गर्नेछ
