गोरखा: गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ ।
त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार सन्दकपुर गाउँपालिका-३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो ।
दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, यमबहादुरको शव श्रीमती इन्दिरा चौलागाईंलाई र दीपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । त्रिशूली किनारमा भेटिएका ती शव गोरखामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको थियो ।
