ललितपुर: नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन्।
ललितपुरमा शनिबार आयोजित पाँच किलोमिटर दौड न्यौपानेले १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा निर्मला केसीले १८ मिनेट ९.१(नौ दशमलव एक)सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।सुनसरी रोकाया चौथो, सृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ भएका छन्। प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गरिन्। सहमहामन्त्रीद्वय डा. डिला सङ्ग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक प्रदान गरे।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १२ हजार, पाँचौँलाई १० हजार र छैटौँलाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
पाटन दरबार स्क्वायर, मङ्गलबजारबाट सुरु भएको दौड पुल्चोक–झम्सिखेल–भैंसेपाटी–एकान्तकुना–जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।नेपाल महिला सङ्घको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो। दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुरसिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीप्रति न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए।
