काठमाडौें: ३२ औँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाँदै छन् ।
वर्ल्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् । प्रशिक्षकमा विपिन बज्राचार्य छन् । फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ ।फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् ।
नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दीपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउन्डेसनले गर्ने बताए । उनका अनुसार सहभागी सबैलाई जनही करिब १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोसाक पनि प्राप्त गर्ने छन् ।टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।
